मनिष झा भन्छन्- हामीलाई राजावादी कित्तामा धकेल्न खोजियो

काठमाडौं । प्रधानमन्त्री हिजो बोलाएको ‘सर्वदलीय’ बैठकमा राप्रपा, रास्वपा र नेमकिपा सहभागी भएनन् । राप्रपालाई निम्तो गरिएको थिएन भने नेमकिपा निम्तो पाएर पनि गएन । रास्वपाको विषयमा भने सरकार र सो पार्टीबाट फरक–फरक दाबीहरू आएका छन् । सुरुमा सर्वदलीय बैठक बोलाइने भनिए पनि प्रधानमन्त्रीको सचिवालयले पठाएको सूचनामा ‘गणतन्त्र पक्षधर दलहरूको बैठक’ लेखिएको थियो । यसले […]

काठमाडौं । प्रधानमन्त्री हिजो बोलाएको ‘सर्वदलीय’ बैठकमा राप्रपा, रास्वपा र नेमकिपा सहभागी भएनन् । राप्रपालाई निम्तो गरिएको थिएन भने नेमकिपा निम्तो पाएर पनि गएन । रास्वपाको विषयमा भने सरकार र सो पार्टीबाट फरक–फरक दाबीहरू आएका छन् ।

सुरुमा सर्वदलीय बैठक बोलाइने भनिए पनि प्रधानमन्त्रीको सचिवालयले पठाएको सूचनामा ‘गणतन्त्र पक्षधर दलहरूको बैठक’ लेखिएको थियो । यसले गर्दा राप्रपालाई बैठकमा नबोलाइनुको अर्को कारण खोजिरहनु परेन । तर, रास्वपा बैठकमा सहभागी नभएको हो कि नबोलाइएको भन्ने जिज्ञासा पैदा भएको छ ।

प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले बोलाए पनि रास्वपाबाट कोही नआएको बताएका छन् । रास्वपा नेताहरू भने आफूहरूलाई खबर नआएको दाबी गर्छन् ।

रास्वपा घोषित रूपमा गणतन्त्रवादी दल हो । पार्टीको प्रस्तावनामा नै लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गरिएको छ । यद्यपि, पछिल्लो समय उब्जिएको राजतन्त्र भर्सेस गणतन्त्रको बहसमा भने रास्वपा सक्रिय सहभागी छैन । कांग्रेस, एमाले र माओवादीका नेताहरू पूर्वराजा र राजावादीलाई गालीगलौज गर्ने होडमा रहँदा रास्वपा नेताहरू भने मौन बस्न रुचाइरहेका छन् । रास्वपा वर्तमान सरकारको भने कटु आलोचक हो ।

हिजोको बैठकमा रास्वपा नदेखिँदा के प्रधानमन्त्रीले रास्वपालाई गणतन्त्रवादीको कित्तामा नराखेका हुन् भन्ने जिज्ञासा स्वतः पैदा भएको छ । हामीले यही जिज्ञासा रास्वपा कार्यवाहक प्रवक्ता मनिष झालाई राख्यौँ । उनले सत्तारुढ पक्षले रास्वपालाई राजावादी कित्तामा धकेल्न चाहेको टिप्पणी गरे ।

‘बैठक बोलाउनेहरूले बौद्धिक दरिद्रताको प्रदर्शन गरेका छन्,’ उनले भने, ‘हामीलाई राजावादी कित्तामा धकेल्न खोजेको हुन सक्छ ।’

उनले नेपाली कांग्रेसका एक महामन्त्रीले हिजो आफूसँग संसदमा गरेको अनौपचारिक कुराकानीको प्रसङ्ग कोट्याए । ‘हामीलाई कांग्रेसका एक महामन्त्रीले हिजो भन्नुभयो कि तिमीहरू गणतन्त्रवादीका रूपमा परिचित नहुँदा हामीलाई फाइदा छ । हाम्रो मार्केट सेयर किन घटाउँछौ बेकारमा भन्नुभयो । उहाँको यो भनाइले नै तपाईँको प्रश्नको जवाफ दिन्छ,’ झाले भने ।

कांग्रेसका दुई महामन्त्रीमध्ये कसले यो भनेका हुन् भन्ने चाहिँ उनले खोल्न चाहेनन् । रास्वपाको लिखित दस्ताबेजमै गणतन्त्र स्वीकार गरिएकाले यसमा कुनै द्विविधाको विषय नै नरहेको झाले जवाफ दिएका थिए ।

‘हामीले जलेश्वर बैठकमा नै लिखितरुपमा कित्ताकाट गरिसकेका हौं । हाम्रो राजनीतिक प्रस्तावनाको पहिलो प्याराग्राफ पढ्नुभएन दाइ ? पढ्नुपर्‍यो नि तपाईँहरूले पनि । हामीले हरेक दिन टिकटक बनाएर भनिरहनुपर्ने हो र ?’ उनले कांग्रेस महामन्त्रीलाई भने ।
त्यसपछि महामन्त्रीले त्यो पुरानो कुरा भइसकेको बताएपछि झाले फेरि जवाफ दिए, ‘तपाईँहरूले चाहिँ ५० वर्ष पुरानो इतिहासमा गर्व गर्ने, हामीले दुई वर्षअघि पारित गरेको दस्ताबेज चाहिँ पुरानो हुन्छ ?’

झाले नेपाल प्रेससँग भने, ‘उहाँहरूले हामीलाई बैठकमा नबोलाउने आशय त यसैबाट झल्किन्छ नि होइन ? रास्वपा गणतन्त्रवादी हुँदा हाम्रो भाग खाइदिन्छन् भन्ने डर उनीहरूलाई छ ।’

यद्यपि, जनमानसमा पनि रास्वपाको तत्कालीन मौनतालाई लिएर कौतूहल अवश्य छ । ‘अहिले सबै गणतन्त्रवादीहरू राजावादीमाथि खनिँदा तपाईँहरू मौन बस्नुको कारण चाहिँ के हो त ?’ भन्ने प्रश्नमा झाले यस्तो जवाफ दिए ः

‘गणतन्त्रवादी र लोकतन्त्रवादी भनेको गणतान्त्रिक र लोकतान्त्रिक अभ्यास गर्ने दल हुन् नि । तपाईँ शान्तिपूर्ण व्यवहार अपनाउने मान्छेलाई शान्तिप्रेमी भन्नुहुन्छ कि दिनको १० चोटि शान्ति शान्ति भनेर जप गर्ने मान्छेलाई शान्तिप्रेमी भन्नुहुन्छ । उहाँहरूले गर्ने लोकतन्त्र र गणतन्त्रको कुरा केवल सुगा रटाइ हो । हाम्रो लोकतन्त्र र गणतन्त्र भनेको अभ्यास हो ।

नेपालमा पहिलो राष्ट्रपति एक्सिडेन्टली हुनुभयो । दोस्रो राष्ट्रपति आग्रहले हुनुभयो । तेस्रो राष्ट्रपति कुनै ऋण तिर्नलाई भयो । मलाई सभापति बन्नदेऊ, त्यसपछि म तिमीलाई राष्ट्रपति बनाइदिउँला भनेर दिएको वचन टार्न नसकेर अहिलेको राष्ट्रपति हुनुभएको हो । यसरी उहाँहरूले गणतन्त्र र लोकतन्त्रको अभ्यास गरिरहनुभएको छ । यो आफू अनुकूलताको लोकतन्त्र अर्थात् ‘कस्टमाइज्ड डेमोक्रेसी’ हो । उहाँहरू लोकतन्त्र र गणतन्त्र जप्नु मात्र हुन्छ । अभ्यास गर्नुहुन्न । हामी जप्दैनौँ, अभ्यास गर्छौँ ।’

झाले आज बस्ने पार्टीको बैठकमा यो विषयमा छलफल हुने जानकारी दिए । ‘यो गम्भीर राजनीतिक विषय हो, हामी बैठक बसेर औपचारिक टिप्पणी गर्नेछौँ,’ उनले भने ।

Prev Article
कुलमान प्रकरण- अदालतमा विचाराधीन विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिएकोप्रति विश्वप्रकाशको आपत्ति
Next Article
कस्तो छ प्रधानमन्त्री ओलीको औपचारिक थाइल्याण्ड भ्रमणको कार्यक्रम ? (भिडिओ)

Related to this topic:

School post

Recent Blog

Latest book

Latest video